चितवन, १८ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोलटोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छन् ।
बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पारिन् ।
‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उनले भनिन्,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो।’
गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना क्रिकेट मैदानमा हुने खेलमा १० वटा सामुदायिक विद्यालय र १० वटा संस्थागत विद्यालय सहभागि हुनेछन् ।
प्रमुख दाहालले अहिले विद्यालयस्तरीय क्रिकेट लिग हुन लागेको भएपनि आगामी दिनमा फुटबल, भलिबललगायतका खेलको लिग हुने उल्लेख गरिन् ।
महानगरपालिकाले शिक्षासँगै रचनात्मक कार्यलाई सँगै अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले व्यवहारिक शिक्षालाई जोड दिएको प्रमुख दाहालको भनाइ छ । भरतपुर महानगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि धेरै सकारात्मक प्रयास गरिरहेको उनले जानकारी दिइन् ।
शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नीति, नियम, कार्याविधि, मापदण्ड निर्माण गरी त्यसको कार्यान्वन गर्दै आएको पनि बताइन् ।म हानगरले एक कक्षा कोठा एक शिक्षक, सामाजिक, गणित तथा आइसिटी ल्याबको व्यवस्था गरी प्रविधिमैत्री शिक्षालाई प्राथामिकतामा राखेको प्रमुख दाहालले बताइन् ।
विगतमा भरतपुरका अधिकांश विद्यालयमा भवन निर्माणको कार्यलाई प्राथामिकता दिएको भएपनि अब भने नयाँ कार्यक्रमहरु ल्याउने उनले जानकारी दिइन् ।