समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित

14

चितवन, ९ माघ । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, दम, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरु देखिएका छन् ।

भरतपुरको २९ वटै वडामा सञ्चालन भएको अभियानमा टोलटोलमामा पुगेर प्रयोगशाला सुविधासहितका चिकित्सक र स्वास्थ्यकर्मी पुगेका थिए । यसका लागि १०२ जना स्वास्थ्यकर्मीले परिचालन गरिएको थियो । हालसम्म ९ हजार ४१८ जनाको स्वास्थ्य परीक्षण गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए ।

स्वास्थ्य जाँचबाट विरामीले मधुमेह र उच्च रक्तचापको औषधि सेवन गरे पनि काम गरे नगरेको बारे पुनः परीक्षण नगरेको पाइएको छ । यस्तै, मधुमेह, उच्च रोगहरु बोकेर हिँडेको तर, जानकारी नभएको समेत पाइएको अधिकृत भट्टले जानकारी दिए । स्वास्थ्य जाँचपछि जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तलाई मधुमेह, उच्च रक्तचापका सुरुवाती चरणमा दिइने औषधि दिएको छ । औषधिसँगै जीवनशैली र खानपानबारे परामर्श पनि दिइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खुसी र सुखी भरतपुर निर्माण गर्न समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको बताइन् । भरतपुवासीलाई प्रत्यक्ष महसुस हुने गरी घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रमुख दाहालको भनाइ छ । जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ महानगरका सबै वडामा अभियान चलाइएकोे हो,’ प्रमुख दाहालले भनिन्।

मंसिर २० गते भरतपुर वडा नम्बर २४ बाट समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य जाँचबाट समस्या देखिएका बिरामीहरूको थप उपचारका लागि शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा उपचारको व्यवस्था मिलाइएको थियो । अभियान माघ मसान्तसम्म सकिने महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए ।

अभियानले भरतपुरमा रहेका जेष्ठ नागरिक, अपाङ्ग तथा अशक्तको वास्तविक स्वास्थ्य अवस्थाको तथ्याङ्क संकलन गरेकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्ययोजना बनाउदाँ धेरै सहयोग पुग्ने प्रमुख सुवेदीले बताए । स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा.भोजराज अधिकारीलाई नियुक्त गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...