स्काभेटरमा आगजनी गर्ने पाँच जना पक्राउ

54

सोलुखुम्बु, २९ पुस । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट ४० लाख बराबरको क्षति भएको थियो । यस्तै, गत असार ५ गते राति थुलुङ दुधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा ८० लाखबराबरको क्षति भएको थियो । यस्तै गत मंसिर ३ गते राति थुलुङ दुधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा एक करोडबराबरको क्षति भएको थियो ।

“सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ,” प्रहरी निरीक्षक मिश्रले भने । आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् ।

पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...