खाँदबारी, २९ पुस । खाँदबारीमा जारी प्रथम तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता सशस्त्र प्रहरीको एपिएफ पकलीसहित चार टिम सेमिफाइनल प्रवेश गरेका छन् । शनिबार खाँदबारी रंगशालामा जारी प्रथम तीनपोखरी कप आमन्त्रित फुटबलमा सशस्त्र प्रहरीको एपिएफ टोली पकलीसहित चार टिम सेमिफाइनल प्रवेश गरेका हुन् ।
शनिबार भएको पहिलो खेलमा भङ्सावरी फुटबल क्लब मोरङले मकालु फेन्स क्लब खाँदबारीलाई ट्राइवेकरमा ३-१ गोल गर्दै भङ्सावरी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो भने दोस्रो खेलमा इटहरी फुटबल क्लब सुनसरीले खाँदबारी युथ क्लब सङ्खुवासभालाई १-० गोलअन्तरले पराजित गर्दै इटहरी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
त्यसैगरी शनिबारै भएको तेस्रो खेलमा विभागीय टोली एपिएफ पकली र तुम्लिङटार स्पोर्टिङ क्लब सङ्खुवासभा क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा एपिएफ टोली पकलीले पेनाल्टी सुटआउटमा १०-९ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । ट्राइबेकरसमेत बराबर भएको तुम्लिङटारले पेनाल्टीमा हार व्यहोर्नुपरेको छ । त्यस्तै, हिजो भएको खेलमा सित्तलपाटी फुटबल क्लबले आयोजक तीनपोखरी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजयीले नगद दुई लाख २२ हजार २२२, उपविजेताले एक लाख ११ हजार १११ र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही २७ हजार ७७७ पाउने छन् ।
यही पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी माघ १ गते समापन हुने छ । तीनपोखरी समाज विकास क्लबले माघेसङ्क्रान्तिको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।