सुनका गहनासहित भारतीय नागरिक पक्राउ

21

नेपालगञ्ज, २८ मङ्सिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयू ४१९९ नम्बरको मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनका अनुसार सोनीको साथबाट ६ लाख ७८ हजार १८५ बराबरको मिनी हार २ थान, मसिनो सिक्री एक थान, नथिया ठुलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला ४ थान र औँठी एक थानसमेत बरामद भएको छ ।

त्यस्तै, अन्य सुपर स्प्लेन्डर मोटरसाइकल एक थान, सामसुङ कम्पनीको ट्याब एक थान, ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, ग्यारेन्टीवाला कानमा लगाउने बेरूवा बाली ३१ जोर र रातोपोतेमा पाइप लगाइएको थान एकसमेत प्रहरीले बरामद गरेको छ । कहाँबाट कसरी ल्याएको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । प्रहरीले शंका लागेर जाँच गर्दा सोनी पक्राउ परेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...