सुन प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भन्दै १ करोड ठगी

31

काठमाडौँ, २७ मङ्सिर । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायब सुब्बालाई ‘छुटाइदिन्छौँ’ भनेर २ जनाले करिब १ करोड ठगी गरेका छन् ।

ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–५ घर भइ काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २६ वर्षीया रीतु राई र बर्दिया पाताभार गाउँपालिका–१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।

भन्सार कार्यालयको गोदाममा राखिएको भेप चोरीमा संलग्न आरोपमा त्रिभुवन भन्सान कार्यालयका नायब सुब्बा रेवन्त खड्का अहिले थुनामा छन् । केन्द्रीय कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका खड्कालाई छुटाउँछौँ भनेर आरोपीहरूले उनका बुबा अमर बहादुर खड्कासँग ९९ लाख ७५ हजार रूपैयाँ रकम लिएका हुन् । उनीहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

रेवन्त खड्का सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ का स्थानीय हुन् । २०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरिएको थियो । भन्सारको गोदाममा राखिएको भेपसहितको लगेज चोरीमा नायब सुब्बा खड्का संलग्न रहेको सिआइबीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरीले खड्कासहित सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेव राव मार्गले, अमृत कार्कीलाई र कास्की घर घएका निर्मल विकलाई पक्रेर अनुसन्धान गरेको थियो । उनीहरूविरूद्ध सुन चोरी तथा आपराधिक विश्वासघातविरूद्धको कसुर मुद्दा अदालतमा विचाराधीन छ ।

Share This:
सम्बन्धित खबर
Loading...