आफ्नै काकासँग एक करोड फिरौती मागेको आरोपमा भतिजासहित ३ जना पक्राउ

39

मकवानपुर, २५ मङ्सिर । मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।

तीनै जनाले यही मंसिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार उनीहरूले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनै जना आरोपितलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

एसपी रिजालका अनुसार पक्राउ परेका समूहले सूर्यप्रसादको घरमा ५ राउण्ड गोली प्रहार गरेको थियो । घटनाको मुख्य योजनाका निश्चल रहेको उनले बताए ।

“निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” एसपी रिजालले भने । उनीहरूले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन । “फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हानेको पाइएको छ,” उनले भने, “फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितहरूले फोनबाट धम्की दिएको खुलेको छ ।”

प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । आरोपितहरूले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषध कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाको साथबाट २ वटा मोटरसाइकल, २ ग्राम खैरो हेरोइन, ५ थान मोबाइल र ५० हजार बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...