सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

28

काठमाडौँ, २५ मङ्सिर । नेपाल प्रहरीले गत बिहीबार नागढुंगाबाट बरामद भएको २ किलो सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौँ सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउइलाई आइतबार पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउइलाई पक्राउ गरेको जानकारी दिए ।

गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८च २६९७ नम्बरको स्कोर्पियो गाडीको गियर बक्सबाट २ किलो सुन बरामद गरेको थियो ।

रसुवाबाट सुन लिएर काठमाडौँ आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय वीरू तामाङ र १९ वर्षीय सुनिल भुजेललाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो । ३ जनाको सूचनाका आधारमा आइतबार थप एक जनालाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...