काठमाडौँ, २२ मङ्सिर । संघीय संसद् संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिले आजको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।
प्रस्तावित राजदूत नेपालले समितिमा आफ्नो सोच, अनुभव, अवधारणासहितको कार्ययोजना प्रस्तुत गरेका थिए । समिति बैठकमा सदस्यहरूले राखेको जिज्ञासामा उनले आफ्नो ज्ञान, क्षमता र विवेकले भ्याएसम्म कार्यसम्पादन र जिम्मेवारी गौरव गर्न लायक हुने गरी पूरा गर्ने बताए ।
पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने पनि उनको भनाइ छ । युवाको प्रतिनिधित्वलाई अब्बल सावित गर्न कामको प्राथमिकीकरणसहित नतिजा देखिने गरी आफूले कार्य सम्पादन गर्ने पनि नेपालले विश्वास दिलाए ।
गत कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
पोर्चुगलको आधिकारिक तथ्यांक अनुसार त्यहाँ झन्डै २५ हजार नेपालीहरुको बसोबास रहेको बताइए पनि वास्तविक संख्या ७० हजारभन्दा पनि बढी हुन सक्ने अनुमान गरिएको छ । दूतावास स्थापनाले त्यहाँ रहेका नेपालीहरुका लागि सहज हुने बताउँदै उनले भने, “पोर्चुगल हेर्ने जिम्मेवारी तोकिएको नेपाली राजदूतावास पेरिसमा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको राहदानी तथा कन्सुलर सेवाका लागि व्यावहारिक कठिनाइ अब अन्त्य हुने छ ।”