एनसेल सेयर खरिदबिक्री शंकाको घेरमा

19

काठमाडौँ, १९ मङ्सिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको सेयर स्वामित्व खरिदबिक्री विवाद र शंकाको घेरमा परेको छ ।

मलेसियन कम्पनी आजियटा ग्रुप बर्हाडले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरंग पैदा भएको छ । राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट सेयर खरिदबिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठेका हुन् ।

एनसेलको स्वामित्व खरिदबिक्री भएको विषयमा सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ । समितिले एनसेल खरिदबिक्रीका विषयमा जानकारी मागसहित आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको समितिका सचिव एकराम गिरिले पुष्टि गरे ।

एनसेलको सेयर खरिदबिक्रीमा देखिएका प्रश्न र शंकाबारे सरकारले जबाफ दिनुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल बताउँछन् । “यो खरिदबिक्रीका सन्दर्भमा नागरिकस्तरबाट प्रश्न उठिरहेका छन् । सरकार उत्तरदायी र नागरिकका प्रश्नमाथि जवाफदेही हुनुपर्छ,” उनले भने,“यो खरिदबिक्री प्रक्रिया विधिसम्मत हो कि होइन ? हाम्रो ऐन कानुनअनुसार भएको छ कि छैन ? यसले सरकारी आय र राजश्वमा के प्रभाव पार्छ ? सेवा प्रवाहमा के असर गर्छ ? लगायत विषयमा सम्बन्धित निकायसँग जानकारी मागिएको छ,” सभापति पोखरेलले भने ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको प्रतिशत सेयर खरिदबिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनिमय ४ (क)मा सेयरधनीको सेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । आजियटाले यो प्रक्रिया पूरा गरे/नगरेको बारे लेखा समितिले प्राधिकरणसँग जबाफ मागेको छ ।

त्यस्तै, निकै कम रकममा सेयर कारोबार भएको देखिएपछि यो व्यावसायिक सम्झौता थप शंका गर्ने ठाउँ देखिएको छ । सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा ८० प्रतिशत सेयर १ अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् १ खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर, अहिले सोही सेयर ५ करोड डलर अर्थात् साढे ६ अर्बमा बिक्री भएको छ ।

त्यस्तै, यो कारोबारमा आयकर ऐन, २०५८ अनुसार पुँजिगत लाभकरसम्बन्धी व्यवस्थालाई कसरी सम्बोधन गरिएको छ भन्ने पनि स्पष्ट छैन । ५ करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी २ वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भइ यस्तो कम्पनीले सेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको छैन । यसबारे पनि लेखा समितिले प्रश्न गरेको छ ।

“नेपालको कर प्रणाली छलेर भएको सेयर खरिदबिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरूलाई जानकारी नै नदिइकन भएको सुन्ने सुनिन आएकाले यो खरिदबिक्री प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाइ रहेको छ ?” लेखा समितिले आन्तरिक राजश्व विभाग, दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, “६ वर्षपछि कानुनबमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको अहिलेको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाइ के रहेको छ ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ ?”

आजियटाले भने व्यवसायमा न्यून प्रतिफलको प्रत्याभूति, झनझटिलो कर प्रशासन, नियमनकारी निकायको असहयोग, लाइसेन्सको म्याद सकिएपछिको अवस्थामा सरकारले स्वामित्व गर्नेलगायत विषयलाई कारण देखाउँदै स्वामित्व बिक्री गर्ने उल्लेख गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...