पर्वतमा २ सहकारीका ८ जना सञ्चालक पक्राउ

24

पर्वत, १६ मंसिर । सहकारी संस्थामार्फत् ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका ८ जना सञ्चालक पक्राउ परेका छन् ।

सदरमुकाम कुश्मा बजारमै सञ्चालित तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका ३ जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका ५ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखराज शर्मा, उपाध्यक्ष विष्णु तिवारी, पूर्वअध्यक्ष राजु शर्मा र सल्लाहकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगी गरेको कसुरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख भुसालले जानकारी दिए । सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट विज्ञ बोलाएर पनि अनुसन्धान भइरहेको छ ।

यसअघि, दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले केही दिन पहिले सूचना जारी गर्दै दुवै सहकारीका बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मद्दति प्रमाणपत्रलगायतका सक्कल कागजातसहित प्रहरी कार्यालयमा आउनसमेत सूचित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...