जाजरकोट भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु

33

जाजरकोट, ११ मंसिर । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गएराति चिसोबाट मृत्यु भएको जानकारी दिए ।

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्प जाँदा १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...