साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

54

लिस्बन, ९ मंसिर । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक जना नेपालीको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका–१३ खौला, पर्वतका ३६ वर्षीय धन बहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो ।

क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारकका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शव गृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए ।

पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरूङले गत मंगलबार राति छुरा प्रहार गरेका थिए । मदिराले मातेका गुरूङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकर बहादुर हमालले जानकारी दिए ।

छुरा प्रहार गरी फरार भएका गुरूङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

क्षेत्री र गुरूङ वैदेशिक रोजगारीका सिलसिलामा ८ महिनाअघि पोर्चुगल आएका हुन् । उनीहरू दुवैजना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

Share This:
सम्बन्धित खबर
Loading...