अनलाइनमार्फत् सट्टेबाजी खेलाउने ६ जना पक्राउ

24

काठमाडौँ, ६ कात्तिक । अनलाइनमार्फत् सट्टेबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–७ घर भइ ललितपुर नखिपोट बस्ने ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भइ ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका–३ घर भइ ललितपुर थेचे बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–७ घर भइ ललितपुर भैँसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बागलुङ बरेङ गाउँपालिका–४ घर भइ ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–२ घर भइ ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूले अनलाइन ग्याम्बलिङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्द भन्ने विश्वास दिलाइ हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाइ सट्टाबाजी गराइ खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न सामाजिक सञ्जाललगायत विभिन्न अनलाइन ग्याम्बलिङ प्लेटफर्म प्रयोग गरी अनलाइनमार्फत् रकमको बाजी राख्न लगाइ सट्टाबाजी गराइ खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट ल्यापटप ६ थान, राउटर २ थान, कम्युटर ३ थान, मोनिटर २ थान, सिपियू १ थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...