नेपाल र युएई भिड्दै

29

काठमाडौँ, १७ कात्तिक । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो सेमिफाइनलमा आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपालले प्रतिस्पर्धा गर्दै छ ।

मूलपानी मैदानमा हुने खेलमा जित दर्ता गर्ने टिम विश्वकपका लागि छनोट हुने छ । आगामी टी–२० विश्वकप अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुँदै छ । आज त्यो विश्वकपका लागि दुई टिमको टुंगो लाग्ने छ । खेल बिहान ११ बजे सुरू हुने छ ।

युएईलाई हराएर नेपाल विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ । पछिल्लो समय नेपालले निकै महत्त्वपूर्ण खेलहरूमा युएईलाई विपक्षीका रूपमा पाएको छ ।

युएईसँग नै नेपालले लिग २ को अन्तिम खेल र प्रिमियर कपको फाइनल पनि खेलेको थियो । ती दुवै खेलमा नेपाल विजयी भएको छ । तर, एक साताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा युएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिस्पर्धीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...