पचास रूपैयाँको सिक्रीका लागि साथीको हत्या

47

जलेश्वर, १० कात्तिक । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रूपैयाँको सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप कुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुई जना साथीले छुरा हानेर हत्या गरेका हुन् ।

बुधबार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० रूपैयाँमा एउटा सिक्री किनेका थिए । सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए । तर, फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आफ्नै साथीको हत्याको आरोपमा वसन्तका साथीहरू भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्यीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ ।

दीपक र अमित दुवै जना पिपरा गाउँपालिका–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो ।

बिहीबार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट डिएसपी गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो ।

हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्पतिएको उनीहरूको कपडा पनि प्रहरीले फेला पारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...