काठमाडौँ, ८ कात्तिक । १८ दिनदेखि जारी इजरायल–हमास युद्धमा मृत्यु हुनेको संख्या साढे ६ हजार पुगेको छ । इजरायली आक्रमणबाट गाजा र वेस्ट बैंकमा ५ हजार १८२ प्यालेस्टिनी मारिएका छन् जसमध्ये बालबालिकाको संख्या २ हजारभन्दा बढी छ । यस्तै, प्यालेस्टाइनमा १५ हजारभन्दा बढी घाइते भएका छन् ।
हमास र गाजामा लगाएको प्रतिबन्धको आलोचना भइरहे पनि इजरायली सेनाले अर्को चरणको हमला गर्न तयार रहेको जनाएको छ । मंगलबार इजरायली सेनका प्रवक्ता ड्यानियल हगारीले फेरि हमला गर्न सेना तम्तयार र दृढ रहेको उल्लेख गर्दै राजनीतिक निर्देशनको पर्खाइमा रहेको बताएका छन् । पत्रकारसँग बोल्दै उनले हमासले बन्दी बनाएकाहरूलाई मुक्त गर्न इजिप्टले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।
सोमबार राति हमासले बन्दी बनाएका २ सयमध्ये २ जना इजरायलीलाई मुक्त गरेको थियो । मुक्त भएकी एक ८५ वर्षीया योचेभेड लिफसिट्जले हमासले दिएको चेतावनीलाई इजरायली सेनाले हल्का रूपमा लिएको हुँदा अहिलेको स्थिति आएको बताएकी थिइन् ।
हमासले ७ अक्टोबरको हमलाभन्दा ३ साताअघिदेखि नै दैनिक रूपमा आगजनी गर्ने र बेलुन उडाउनेजस्ता क्रियाकलाप गर्ने गरेको उनको भनाइ थियो । हमासले बन्दीहरूलाई आफूहरू कुरानमा विश्वास गर्ने भएकाले कसैलाई पनि हानी नगर्नेमा विश्वस्त पारेका थिए । लिफसिट्जले हमासका सुरूङहरू माकुराको जालोजस्तो रहेको प्रतिकृया पनि दिएकी थिइन् ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरूद्धको युद्ध लामो हुने बताएका छन् । जेरूसलेममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसँगको पत्रकार सम्मेलनमा नेतन्याहुले हमासलाई हराउन नसके सबैको हार हुने पनि बताए ।