बिरामी पर्यटकको हेलिकोप्टरमार्फत् उद्धार

233

खाँदबारी, ३ कात्तिक । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ थुदामबाट एक विदेशी नागरिकको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।

भोटखोला–२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकोप्टरमार्फत् उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।

बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा हेलिकोप्टरमार्फत् काठमाडौँ पठाइएको उनले बताए ।

डानियल एक दिनअघि भोटखोलाको थुदाम पुगेका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएका उनका साथमा कति जनाको समूह थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...