न्युजिल्यान्डको चौथो जित

54

काठमाडौँ, २ कात्तिक । न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत बुधबार भएको खेलमा अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यसजितसँगै न्युजिल्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्युजिल्यान्डले यसअघि इंग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बंगलादेशलाई ८ विकेटले हराएको थियो ।

जितका लागि २८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाए । त्यस्तै, आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।

न्युजिल्यान्डका मिचेल सान्टनर र लक्की फर्गुसनले समान तीन–तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यस्तै, म्याट हेनरीले १ विकेट झारे ।

त्यसअघि भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८८ रनको योगफल बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

त्यस्तै, कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए । विल योङले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आज्मतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई–दुई विकेट तथा राशिद खान र मुजिब उर रहमानले समान एक÷एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...