काठमाडौँ, १ कात्तिक । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले पराजित गरेको छ ।
युएईले नेपाललाई जितका लागि १४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ४० बल खेल्दै पाँच चौकाको मद्धतमा अविजित ५१ रन जोडे । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए ।
बलिङतर्फ युएईका निलन्स केशवानी र अलि नसिरले समान एक–एक विकेट लिए ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो ।
युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । त्यस्तै, अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा ३ चौका र १ छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । कप्तान मोहम्मद वासिमले १७ रन जोड्दा आसिफ खानले १५ रन बनाए ।
युएईलाई १४० रनमा समेट्नेक्रममा नेपालका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै, गुल्सन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले समान एक–एक विकेट लिए ।
अब नेपालले आफ्नो दोस्रो खेल भोलि हङकङसँग खेल्ने छ ।