लागुऔषधसहित ८ जना पक्राउ

20

काठमाडौँ, २६ असोज । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषससहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ बस्ने २५ वर्षीय प्रकाश निरौला रहेका छन् ।

प्रहरीले गौरीगञ्ज गाउँपालिका–२ आँपगाछीबाट ४ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो । कोरोबारीबाट खटिएको प्रहरीले प्रदेश १–०१–०१५प ६७४६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, झापाकै बिर्तामोड नगरपालिका–३ स्थित गोसलाइनबाट ९८ ग्राम २४० मिलिग्राम ब्राउनसुगरसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन टुडु, ३७ वर्षीय सोम मर्डी र बिर्तामोड नगरपालिका–७ बस्नै ३२ वर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन् । उनीहरूको साथबाट प्रहरीले २ वटा मोटरसाइकल र एक वटा स्कुटरसमेत बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१० गणपति इँटाभट्टा नजिकबाट खैरो हेरोइन ९४० मिलिग्रामसहित १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट करिब १० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरा प्रसौनी गाउँपालिका–५ नकटुवा बस्ने ४० वर्षीय रमेश महतो नुनिया रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना५ख २४६८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, हेटौँडा–१९ नेवारपानीबाट ४० किलो गाँजासहित सोही उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४१ वर्षीय अर्जुनप्रसाद थपलिया र पर्सा बेलबासी गाउँपालिका–४ बस्ने ४० वर्षीय बिनोट चौरासियालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.प्र.०३–००१च ११७६ नम्बरको गाडी र ना५३प ६११४ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...