काठमाडौँ, २५ असोज । शनिबार सयौँको ज्यान जानेगरी हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायली सेनाले ५ दिनयता लगातार गाजापट्टीमा बम बर्साइरहेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायललाई अमेरिकाको पूर्ण समर्थन रहने बताएका छन् । अमेरिकाले गाइडेन मिसाइलका साथ एफ–३५ लडाकु विमानसमेत इजरायल पठाउँदै छ ।
त्यसका अलावा रक्षामन्त्री लोइड अस्टिनले आइतबार अनेकौँ सैन्य जहाजका साथ विश्वकै सबैभन्दा ठुलो विमानवाहक युद्धपोत युएसएस जेराल्ड फोर्ड पनि इजरायलनजिक पठाउने बताएका छन् । अमेरिकाको मध्यपूर्व (पश्चिम एसिया) नीतिको सबैभन्दा प्रमुख तत्व भनेकै सो क्षेत्रमा इजरायलको सैन्य प्रभुत्व कायम गर्नु हो । अमेरिकी लगानीमा इजरायलको सैन्य क्षमता तथा हतियार बढाएर यो उद्देश्य पूरा गरिँदै आएको छ ।
कति शक्तिशाली छ त इजरायलको सेना ?
इजरायलले विशाल सैन्य संयन्त्र सञ्चालन गरिरहेको छ । इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आइआइएसएस) को यो वर्षको प्रतिवेदनअनुसार इजरायलसँग १ लाख ६९ हजार ५०० सक्रिय सैनिक छन् । जसमा नौसेना र अध्र्दसैनिक पनि पर्छन् । त्यसबाहेक ४ लाख ६५ हजार जगेडा सैनिक छन् । जसलाई आवश्यक पर्नेबित्तिकै सेवामा बोलाउन सकिन्छ । र, ८ हजार अध्र्दसैन्य बलका सदस्य छन् ।
हाल गाजानजिकै करिब ३ लाख इजरायली सैनिक तैनाथ रहेको बुधबार एक सैन्य प्रवक्ताले बताएका छन् । यो मुलुकमा १८ वर्षमाथिका हरेक नागरिकले अनिवार्य सैन्य सेवा गर्नुपर्छ । भर्ती भएपछि पुरूषले ३२ महिना र महिलाले २४ महिना सेवा गर्नुपर्छ ।
पश्चिम एसियामा सबैभन्दा शक्तिशाली सेना भएको मुलुकमा पर्छ इजरायल । जोसँग आधुनिक निगरानी प्रणाली र हतियार छ ।
इजरायलसँग भएका सैनिक र हतियार यसप्रकार छन्ः
जवान
१ लाख ६९ हजार ५०० नियमित सैनिक
४ लाख ५६ हजार जगेडा सैनिक

स्थल शक्ति
२ हजार २०० भन्दा बढी ट्यांक
५३० विभिन्न प्रकारका तोपखाना
हवाई शक्ति
३३९ लडाकु विमान
१९६ वटा एफ– १६
८३ वटा एफ– १५
३० वटा एफ– ३५
१४२ वटा हेलिकोप्टर
४३ वटा अपाचे एट्याक हेलिकोप्टर

नौसैनिक शक्ति
५ वटा पण्डुब्बी
४९ वटा जहाज
हवाई प्रतिरक्षा प्रणाली
इजरायलको आइरन डोम नामक हवाई प्रतिरक्षा प्रणाली सफलमध्ये एक मानिन्छ । २००६ मा हेजबुल्लाहसँगको युद्धपछि टोटो दुरीबाट प्रहार गरिएको रकेट रोक्न रेडार प्रविधि प्रयोग गरी यो प्रणाली विकास गरिएको थियो । २०११ देखि प्रयोगमा आएको आइरन डोम अमेरिकाको सहयोगमा बनाइएको थियो । जसको केही हिस्सा अमेरिकाले आपूर्ति गर्छ । अमेरिकाले इजरायलको हवाई प्रतिरक्षा प्रणालीका लागि २०२२ मा १.५ अर्ब डलर छुट्याएको थियो ।
आइआइएसएसका अनुसार २०२१ मा हमास र अन्य प्यालेस्टिनी समूहले प्रहार गरेको रकेटमध्ये ९० प्रतिशतभन्दा बढीलाई आइरन डोमले छेकेको थियो । इजरायलसँग आणविक हतियार रहेको पनि विश्वास गरिन्छ । इजरायलसँग जेरिचो मिसाइल छ र विमानहरू छन्, जो आणविक बम प्रहार गर्न सक्षम छन् ।

इजरायलले आफ्नो सेनामा कति खर्च गर्छ ?
२०२२ मा इजरायलले सेनाका लागि २३.४ अर्ब डलर गरेको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले जनाएको थियो । यो भनेको २०१८–२०२२ को अवधिमा प्रतिव्यक्ति २ हजार ५३५ डलर हो । प्रतिव्यक्तिका हिसावले कतारपछि विश्वको दोस्रो रक्षा खर्च गर्ने मुलुक इजरायल हो । त्यसपछि अमेरिका, साउदी अरब र सिंगापुर छन् ।
गतवर्ष इजरायलले जिडिपीको ४.५ प्रतिशत सेनामा खर्च गरेको थियो । यो विश्वको दशौँ ठुलो खर्च हो ।
इजरायलले कोसँग हतियार किन्छ, कसलाई बेच्छ ?
हालसम्मको अवस्था हेर्ने हो भने इजरायलले निर्यात गर्नेभन्दा कयौँ गुणा बढी हतियार आयात गरेको छ । तर, पछिल्लो दशकलाई मात्र हेर्दा आयातलाई निर्यातले जित्न थालेको छ ।
२०१८–२०२२ को अवधिमा इजरायलबाट कम्तीमा ३२ मुलुकले ३.२ अर्ब डलर मूल्य बराबरको हतियार किनेका छन् । त्यसमध्ये एक तिहाइ हतियार त भारतले मात्र किनेको छ । उसले १.२ अर्ब डलर इजरायललाई हतियारका लागि तिरेको छ ।
भारतपछि अजरबैजान (२९.५ करोड डलर), फिलिपिन्स (२७.५ करोड डलर), अमेरिका (२१.७ करोड डलर) र भियतनाम (१८ करोड डलर) छन् ।
सोही अवधिमा इजरायलले दुई मुलुकबाट मात्र हतियार किनेको छ । अमेरिका र जर्मनीसँग उसले २.७ अर्ब डलरको हतियार किनेको छ । त्यसमध्ये २.१ अर्बको अमेरिकाबाट र बाँकी झन्डै ५५ करोडको जर्मनीसँग किनेको हो ।

इजरायललाई अमेरिकाले कति सहयोग दिन्छ ?
सन् १९४९ देखि हालसम्म इजरायलले अमेरिकाबाट २६३ अर्ब डलर सहयोग प्राप्त गरेको छ । त्यसपछि गत ७७ वर्षमा दोस्रो ठुलो अमेरिकी सहयोग गर्ने मुुलुक हो इजिप्ट । जसले १५१ अर्ब डलर प्राप्त गरेको छ ।
अमेरिकी सांसदहरूले मध्यपूर्वमा अमेरिकाको रणनीतिक स्वार्थको रक्षकका रूपमा इजरायललाई लिने गर्छन् । सन् २०२३ मा अमेरिकाले इजरायललाई ३.८ अर्ब डलर सैन्य सहयोग गरेको छ । सन् २०१६ मा एक दशकभित्र ३८ अर्ब डलर सहयोग गर्ने सम्झौता भएको थियो ।
सन् १९४६ देखि २०२३ सम्म सैन्य तथा रक्षा सहयोगका नाममा अमेरिकाले इजरायललाई १२४ अर्ब डलर दिएको छ ।
यो वर्ष दिएको ३.८ अर्ब डलरमध्ये ५० करोड जति क्षेप्यास्त्र प्रतिरोधका लागि हो ।
इजरायलभित्र हमासको आक्रमणलगत्तै इजरायलले अमेरिकाबाट आइरन डोमका गोलाहरू माग गरेको थियो । जसलाई तुरून्त आपूर्ति गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए ।
सन् १९६७ मा छिमेकी अरब मुलुकका सैनिकहरूलाई हराएर वेस्ट ब्यांक, इस्ट जेरूसलेम र गाजा कब्जा गर्न थालेपछि इजरायललाई अमेरिकले सैन्य सहयोगमा ह्वात्तै बढाएको थियो । अल जजिराबाट