भोटखोलासँगको सञ्चार सम्पर्क टुट्यो

107

खाँदबारी, २४ असोज । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरूद्ध भएको छ ।

मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनी डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चार सेवा अवरूद्ध भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए ।

टेलिफोन सेवा अवरूद्ध हुँदा भोटखोला–१ किमाथांकाबाहेक सबै वडामा सम्पर्कविच्छेद भएको छ । गत असोज १७ गते राति परेको चट्याङले टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्‍याएको छ ।

उच्च हिमाली गेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेलाबेला टावरमा समरया आउने गरेको छ । टेलिफोन सेवा अवरूद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

अवरूद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए । उनले टेलिफोन सेवा मर्मतका लागि मंगलबार प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...