एजेन्सी, २२ असोज । प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ ।
“गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसंघको मानवीय निकाय ओसिएचएले भनेको छ ।
ओसिएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ ।
हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (युएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताएका छन् ।
“यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौं,” उनले भने ।
गाजामा २३ लाख प्यालेस्टिनी छन् । उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् ।