नेपाल एयरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने
काठमाडौँ, १९ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलंकाको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।
नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न ४ वटा संस्थाबीच बिहीबार समझदारीपत्र (एमओयु) अस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिड्नीसहितका गन्तव्यमा उडान विस्तार गरिने उल्लेख गरे ।
अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान संख्या बढाएर लैजाने प्रयासमा रहेको बताए । उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजना रहेको उनले उल्लेख गरे ।
नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाचो औँल्याए ।
राष्ट्रिय दायित्वलाई ध्यान दिएर दुर्गम भेगमा उडान गर्ने तीनवटा ट्विनअटर जहाज खरिद प्रक्रियामा रहेको र यसले छिट्टै सार्थकता पाउने उनले विश्वास व्यक्त गरे ।