विदेश लैजाने भन्दै ८० लाख ठगी गरेको आरोपमा २ विदेशी नागरिक पक्राउ

19

काठमाडौँ, १८ असोज । विदेश लैजाने भन्दै ठगेको अरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित होटल यात्री एन्ड डुडी सुट्स एन्डल स्पाबाट पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा पाकिस्तान राहुलपिन्डी घर भइ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजान घर भइ ठमेल बस्ने ३१ वर्षीया आइसेल हुसेनील छन् । उनीहरूलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

एसपी रेग्मीका अनुसार उनीहरूले वैदेशिक रोजगारका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायत देशमा पठाइदिने भनेका थिए । त्यसका लागि वर्कपर्मिटलगायत नक्कली कागजातहरू देखाएर विश्वासमा पारी ठगी गरेको आरोप छ ।

उनीहरूले प्रोसेसिङ गरिदिने भन्दै प्रतिव्यक्ति एक हजार डलर लिने गरेका थिए ।

नक्कली अफर लेटर, वर्कपर्मिट, भिसालगायतका कागजातहरू पठाएर रकम लिने र यसरी नै अन्दाजी ८० लाख रूपैयाँ ठगिसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कतिपय पीडितको विश्वास जित्न उनीहरूले अजरबैजानसमेत घुमाएको एसपी रेग्मीले बताए ।

यसको थप अनुसन्धान गर्न कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुमा पठाएको जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...