मचानको तेस्रो तलाबाट खसालेर लक्ष्मीको हत्या

17

महेन्द्रनगर, १७ असोज । गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला पर्‍यो । शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त शव प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगायो ।

घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले लक्ष्मीको हत्यापछि माइतीघर नजिकै लगेर शव फाल्ने ४ युवकलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–१ का १९ वर्षीय राहुल राना, २७ वर्षीय सरोज राना, लालझाडी गउँपालिका–१ नौरंगाका ३३ वर्षीय सेनराज राना र सोही स्थानका ३३ वर्षीय पर्शु रानालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले प्रारम्भिक अनुसन्धानबाट हत्या गरिएकी महिलालाई लालझाडी–१ स्थित जंगलमा रहेको मचानमा लगेर मादक पर्दाथ सेवन गराइ खसालेर हत्या गरेको देखिएको जानकारी दिए ।

“मचानको तेस्रो तलाबाट खसालेर घर्तीको हत्यापछि शव उनीहरूले नै माइतीघर नजिकै लगेर फालेको देखिन्छ,” उनले भने, “मचानबाट खसेपछि गम्भीर घाइते भएकी घर्तीलाई मोटरसाइकलमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

प्रहरीले चारै जनाविरूद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत कञ्चनपुरबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले अभियुक्तलाई आइतबार पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...