नेपालगञ्ज, १६ असोज । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।
सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहारलगायत गतिविधि भएको तथा सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएको भन्दै नेपालगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।
जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझाँ चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो । उक्त चार किल्ला सीमाभित्र कसैलाई भेला हुन, सभा समारोह गर्न, जुलुस तथा र्याली गर्न र हिँड्डुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आचार्यले जानकारी दिए ।
ओमकार परिवार र हिन्दु समाजलगायतका संघसंस्थाले आज नै नेपालगञ्जमा सद्भाव र्याली निकालेका थिए । सो आदेशको उल्लंघन भए कानुनअनुसार कारबाही हुने स्थानीय प्रशासनले जनाएको छ ।