बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

19

ओखलढुंगा, १० असोज । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविराम धमला बलात्कार आरोपमा पक्राउ परेका छन् ।

वडाध्यक्ष धमलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरेको हो । धमलाविरूद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मंगलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए । प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए ।

पक्राउ परेका धमलालाई ओखलढुंगा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...