माल्टा पठाइदिन्छु भनी १३ लाख रूपैयाँ ठगी गर्ने पक्राउ

29

काठमाडौँ, ८ असोज । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका घर भइ हाल ललितपुर महानगरपालिका–१६ भैँसीपाटी बस्ने ३५ वर्षीय रमेश बडुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले कुम्भराज जोशीसहित ५ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति ७ लाख ५० हजार रूपैयाँ लाग्छ, त्यहाँ पुगेपछि होटेलमा काम लगाइदिन्छु, मासिक १ लाख ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारेर ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

पीडितहरूबाट पटक–पटक गरी १३ लाख १५ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएकाले उनलाई पक्राउ गरिदिन वैदेशिक रोजगार विभागले पत्रचार गरेसँगै अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...