चिकित्सक अपहरणमा संलग्न व्यक्ति १३ वर्षपछि पक्राउ

15

नुवाकोट, ७ असोज । बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि पक्राउ परेका छन् ।

श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपालिका–१२ का ३९ वर्षीय तामाङलाई घरनजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालत बुझाइएको हो ।

‘अपहरण तथा शरीर बन्धक मुद्दा’मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख जरिबानाको फैसला सुनाएको थियो । उनलाई आजै अदालतले कारागार चलान गरेको छ ।

विसं २०६७ जेठ ४ मा डा.श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित ६ जनालाई अदालतले विसं २०६९ जेठ २४ मा कैदसहित जरिबाना तोकेको थियो । चिकित्सक भक्तमान श्रेष्ठको अपहरण र त्यसपश्चात तीन किलो सुन फिरौती माग्न संलग्नमध्ये केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...