१५ लाखभन्दा बढीको नक्कली नोटसहित सङ्खुवासभाका २ जना पक्राउ

48

इनरूवा, ५ असोज । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रूपैयाँभन्दा बढीको नक्कली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ खमारेका २५ वर्षीय विवेक राई र मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार रूपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ परेका दुई जनाले काठमाडौँबाट नक्कली नोट छपाइ गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ ।

गिरोहमा संलग्न रहेका अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...