महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ

18

काठमाडौँ, २ असोज । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ३३ वर्षीय सुरज गुरूङ, पर्सा वीरगञ्ज घर भइ काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन् । साथै अन्य दुई जना भारतीय नागरिकहरू पश्चिम बंगालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

रेग्मीका अनसार गत भदौ २५ गते उनीहरूले कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकी अफ्सरा श्रेष्ठको घाँटीमा लगाइराखेको अन्दाजी २ तोलाको लकेटसहित सिक्री लुटपाट गरेका थिए । अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका–२८ बागबजार घर भइ हाल सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरूङसमेतका मानिसहरूको संलग्नता रहेको भन्ने खुल्न आएपछि निजहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरूसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...