कलाकारले बक्स अफिसभन्दा पात्रमा बढी ध्यान दिनुपर्छ : अभिनेता दयाहाङ राई

25

काठमाडौँ, १ असोज । यो वर्षकै पहिलो दिन प्रदर्शन भएको चलचित्र ‘जारी’ले व्यापारसँगै एक सय दिन प्रदर्शन हुने चलचित्रका रूपमा कीर्तिमान कायम गर्न सफल भयो । यो सफलतापश्चात अभिनेता दयाहाङ राई र मिरूना मगरको जोडीलाई दर्शकले रूचाएको प्रमाणित भयो । यस अगाडि नै उनी दुई अभिनित ‘कबड्डी ४ः दी फाइनल म्याच’ले बक्स अफिसमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो ।

यही जोडी अभिनित चलचित्र ‘नाङ्गो गाउँ’लाई पनि दर्शकले रूचाएका छन् । गत शुक्रबार २९ भदौदेखि प्रदर्शनरत चलचित्रको सुरूवाती व्यापार उत्साहजनक रहेको सुन्दा खुसी लागेको अभिनेता दयाहाङ राईले बताए । उनले भने,“मैले चलचित्रमा व्यापार गर्ने अनुमानभन्दा पनि विषयवस्तुलाई हेरेर काम गर्ने गरेको छु । किनकि पछिल्लो चलचित्रको सफलतासँग श्रृंखलाबाहेक अन्यको धेरै सम्बन्ध रहँदैन । यसले व्यावसायिकरूपमा समेत सफलता पाइरहेको सुन्दा खुसी लागेको छ ।”

उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेका छन् । त्यसैले आउँदो समयमा बन्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो । “अभिनेताले बक्स अफिसभन्दा पनि आफ्नो चरित्र निर्माणमा दबाब लिनुपर्छ । यसले नै पात्रप्रतिको इमानदारी प्रष्ट्याउँछ,” उनले भने ।

दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको चलचित्रमा अभिनेता राईसँगै मिरूना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारले अभिनय गरेका छन् ।

सोही मितिमा प्रदर्शनमा आएको चलचित्र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ले पनि सुखद् सुरूवात गरेको छ । निर्देशक झरना थापाले चलचित्रको विषयवस्तुलाई रूचाइएको जानकारी दिइन् । उनले भनिन्, “हाम्रो विषयवस्तुलाई दशर्कले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । हामीले नियमितभन्दा फरक प्रस्तुति लिएर आएका छौँ ।”

चलचित्रमा अभिनेता विपिन कार्की, धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ, जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...