तीनकुने सामूहिक हत्या प्रकरण : सञ्जय भण्डारीले हत्या गरेको निष्कर्ष
मोटरसाइकलले ठक्कर दिएको बदला लिन नवीनको हत्या, बाहिर ल्याउने डरले अन्यलाई मारे
काठमाडौँ, ३१ भदौ । राजधानीको तीनकुनेमा ४ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । २३ वर्षीय भण्डारीको बयानका आधारमा प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेको हो ।
प्रतिशोधका कारण बोल्न नसक्ने भण्डारीले विशाल राईको हत्या गर्ने क्रममा अन्य तीन जनाको पनि हत्या गरेको प्रहरीले जनाएको छ । प्रतिवादी सञ्जय भण्डारीले बाटो आवतजावत गर्ने क्रममा मृतक विशाल राईलाई उक्त घटना भएको सःमिलको घर टहरोमा पहिला ३÷४ पटक देखेसँगै उनी हत्या गर्ने योजनाका साथ शुक्रबार राति त्यहाँ पुगेका थिए ।
“प्रतिवादी सञ्जय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहुँ खोज्यो भने छप्काइ दिन्छु भनी आफू बस्ने गरेको दिदी भिनाजुको घरको डेरा कोठाबाट उक्त खुकुरी आफूले बोक्ने झोलामा हाली काडाँघारीस्थित वीरेन्द्र चोकबाट सःमिलको पछाडिपट्टिको बन्द गेटबाट माथि चढी मृतक विशाल राई बस्ने कोठमा गई हेर्दा निजलाई तत्काल नदेखेपछि सोही कोठाको सोफामा बसिरहेको अवस्थामा केही क्षणपछि मृतक विशाल राई आइ किन यहाँ बसेको भनी कुटपिट गरेपछि निज प्रतिवादी सञ्जय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटक–पटक प्रहार गरी गरेको खुलेको छ,” प्रहरीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।
उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपटि कराएको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा कक्षा ८ सम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा विज्ञ झिकाइ थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि सोही घरमा रहेका दीपेन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थल पुगेको थियो । रगत लतपतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दोष देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ–३२ तीनकुनेस्थित गैरीगाउँस्थित दिव्य सःमिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्र भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।
प्रतिवादीले चारै जनाको हत्या गरेपश्चात् बाहिर मेन गेटमा ड्याङड्याङ आवाज आएको र बत्तीको लाइटसमेत देखेपछि भागेका थिए । उनी यसअघि भित्र प्रवेश गरेको पछाडिपट्टिको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोक पुगेका थिए । त्यहाँ गएर उनी दिदी भिनाजुको कोठामा गई सुतेका थिए ।
शनिबार बिहान उठेर खाना खाना खाएपछि अघिल्लो दिनजस्तै पहिला पढेको नक्सालस्थित विद्यालयमा साथीहरूसँग भेट्न गई घर आएर खाना खाएर सुतेको खुल्न आएको पनि प्रहरीले जनाएको छ । आइतबार बिहान सिन्धुपाल्चोकमा लुकेर बस्ने योजनाका साथ जान लागेका उनलाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसइबी बढेको खुलेको छ । त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
नवीनसँग मात्रै दुष्मनी भए पनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरले जानकारी दिए ।