सुन तस्करी प्रकरण : ३६२ किलो सुन तस्करी भएको खुलासा

28

काठमाडौँ, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरूमाथि विभिन्न सातवटा कसुर लगाउन सिफिरिस गरिएको छ ।

उक्त प्रकरणमा आरोपीहरूमाथि हालसम्म भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सिआइबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले जानकारी दिए ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरूले विभिन्न सात ओटा कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो)भन्दा बढी सुन तस्करी गरेको खुलेको पनि जानकारी दिए । एआइजी बज्राचार्यका अनुसार त्यसलाई हिसाब गर्दा अहिलेको मूल्यमा तीन अर्ब ५० करोड २ लाख १६ हजार ५५२ बराबरको सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ ।

उक्त घटनामा अहिलेसम्म ३२ जना पक्राउ परेका छन् । त्यसमध्ये २३ जना नेपाली र ९ जना विदेशी रहेकामा १८ जना फरार रहेको उनको भनाइ थियो ।

सुन तस्करीबारे ४२ जनाको टोलीबाट अनुुसन्धान
उक्त प्रकरणमा प्रत्यक्षरूपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ । सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताए । उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ । त्यसपछि अपरेसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाइ गर्नेलगायत काम गरेको, अर्को डकुमेन्टेसन टोलीले अभियोजनलगायत कामलाई अनुसन्धानसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पुर्‍याएको सिआइबी प्रमुख बज्राचार्यले जानकारी दिए ।

उक्त सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरूले सुरूमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए । विभिन्न सात ओटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेडका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनले बताए । तहगत रूपमा मन्छे तयार पारेर तस्करी गरेको पनि पाइएको चर्चा गर्दै संयोजक थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको, हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने गरिएको तथ्य फेला परेको बताए ।

भन्सारको भौतिक मूल्यांकन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्ने गर्दछ तर त्यहाँ संलग्न कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेका छन् ।

गत साउन ३ गते राजश्व अनुसन्धन विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको थियो । ब्रेक शुसहितको सुन १५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम पुगेको थियो । उक्त सुन अहिले राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...