त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित चार जना पक्राउ

10

काठमाडौँ, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैधरूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरूवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरूङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरूङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

उनका अनुसार हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैधरूपमा लुकाइछिपाई भन्सार छली गर्न लगाई शनि देउला र कमल गुरूङले संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई त्यहाँ तैनाथ प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...