एजेन्सी, २४ भदौ । मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । शुक्रबार राति स्थानीय समयअनुसार ११स्११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ ।
भूकम्पमा परेका १ हजार ४०४ जनाको अवस्था गम्भीर छ ।
पर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । यहाँ ८ लाख ४० हजार मानिसहरूको बसोबास रहेको सिएनएनले जनाएको छ ।
धेरैजस्तो मानवीय क्षति माराकेश सहरमा भए पनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पबाट क्षतिग्रस्त ठाउँमा उद्धार टोली खटिएको छ । यद्यपि, भूकम्पले थुप्रै भवन, सडकहरू भत्किएको र अवरूद्ध भएकाले पनि उद्धार गर्न समस्या भइरहेको सिएनएनले जनाएको छ । माराकेशका ऐतिहासिक पर्खालहरूमा पनि क्षति पुगेको छ ।
मोरोक्कोमा २० वर्षपछि यति ठुलो भूकम्प आएको हो । यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला ६३० जनाको मृत्यु भएको थियो ।