भक्तपुर, २४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रूपमा चाडपर्व मनाएको देख्ने नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।
अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाडपर्वका नाममा सदियौँदेखि कायम रहँदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताएका हुन् ।
“यस्ता चाडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीको एकता, सद्भाव देखेर मत भतभती पोल्ने सलबलाएका छन्,” उनले भने, “यसरी सबै जातजातिका मानिस मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरू साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेसँग सचेत हुनुपर्छ ।”
सबै जातजाति एकै ठाउँ बसेको मन नपराउने, झडगा गराएर मारामार गर्न गराउन खोज्ने एकता विरोधीसँग सचेत हुँदै यस्ता साझा चाडपर्व उत्सपका रूपमा मनाउनुपर्ने उनले बताए । उनले हामी आफैँ आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने उल्लेख गर्दै देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिए ।