मलङ्गवा, २३ भदौ । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए ।
शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो । विवाद ढुंगा हानाहा र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ढुंगा लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरीसमेत घाइते भएका छन् ।
आज दिउँसो फेरि दुवै पक्षबीच ढुंगा हानाहान हुन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै आज जिल्ला प्रशासन कार्यालय सर्लाही मलङ्गवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर, शनिबार बिहानैदेखि सदरमुकाम मलङ्गवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी÷बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।