रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातको मृत्यु, २९ जना घाइते

42

बाँके, २३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको शमशेरगञ्ज नजिक रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।

दाङबाट बर्दिया जाँदै गरेको ना७ख २३२१ नम्बरको यात्रुवाहक बस राजमार्गमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राति सवा ९ बजे ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका चालक र सहचालकसहित ७ जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले जानकारी दिए । उनका अनुसार बर्दियाको ठाकुबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू, चालक ४५ वर्षीय जुगबहादुर चन्द र सहचालकको मृत्यु भएको छ । सहचालकको भने पहिचान खुलेको छैन ।

बसमा सवार ४१ जनामध्ये २ जना गम्भीर, १२ जना मध्यम र १५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अन्य ५ जना भने सकुशल रहेका छन् ।

दुर्घटनामा घाइते भएकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल नेपालगञ्ज रिफर गरिएको जिल्ला ट्राफि कार्यालय बाँकेले जनाएको छ ।

बर्दियाको ठाकुरद्वारस्थित बेतनी सामुदायिक वन उपभोत्ताहरूले रिजर्भ गरेको उक्त बस दाङको धारापानी र थारू संग्राहलय भ्रमण गरी फर्किने क्रममा दुर्घटना भएको हो । बिग्रिएको सडक किनारमा रोकिएको ट्रकमा बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...