मधेसको कथा भन्नुपर्छ : झरना थापा

45

काठमाडौँ, २१ भदौ । अभिनेत्री झरना थापाले निर्देशन गरेको नयाँ चलचित्र ‘एक भगवत गीता’को अधिकांश छायांकन गरिएको छ ।

मिथिलाको संस्कृति र कलालाई चलचित्रमा प्रस्तुत गरिनुका साथै जानकी मन्दिरलाई पृष्ठभूमि बनाएर अधिकांश छायांकन गरिएको छ । पछिल्लो केही वर्षयता मधेसले नेपाली चलचित्रमा अपनत्व महसुस गर्न नसक्नुको कारण स्थानीय भाषा र संस्कृति नसमेटिनु पनि एक कारण हुन सक्ने निर्देशक थापाले बताइन् ।

“हाम्रो चलचित्रमा मधेसको पात्र मात्र नभइ संस्कृति पनि पस्तुत गरिएको छ । यसले जानकी मन्दिरको पर्यटनमा टेवा पुर्‍याउनेमा म विश्वस्त छ,” उनले भनिन्, “तराईको बजारलाई ध्यान दिँदै मैथली भाषाको प्रयोग गरिएको छ तर, त्यसलाई विश्वभर बुझ्ने किसिमले हामीले चलचित्रमा प्रस्तुत गरेका छौँ ।”

स्थानीय भाषामै स्वराङ्कन गराएर चलचित्र प्रदर्शन गर्न सकिए राम्रो हुने भएता पनि अहिले विश्व प्रदर्शनलाई मात्र केन्द्रित गरिएको उनले बताइन् ।

निर्देशक थापाले आफ्नो चौथो निर्देशकीय चलचित्रमा सामाजिक कथा देखाउँदै छिन् । अघिल्ला चलचित्र परम्परागत भए पनि आउँदो समयमा समाजसँग जोडिएको कथा र पात्रलाई पर्दामा ल्याउने उनको योजना छ । “मैले सुरूवाती समयलाई सिकाइको रूपमा लिएँ । धेरै दर्शकसम्म पुग्न परम्परागत कथ्थशैलीका चलचित्र निर्देशन गरेँ । किनकी ती दर्शकलाई अब सामाजिक विषयसँग जोडिएका चलचित्रसम्म आकर्षित गर्नेछु,” उनले भनिन् ।

उनले चलचित्र निर्देशन गर्दा निर्देशक र लेखक बजार निर्देशित हुनुपर्ने अवस्था रहेको बताइन् । किनकी बजारमा व्यापार गर्न नसके यात्रा रोकिने उनको बुझाइ थियो । उनले भनिन्, “हामीले कथामा पात्र सोच्दा नै बजारको मूल्य मान्यता जोडिँदो रैछ तर, स्टार कलाकारकै कारण चलचित्र भवनसम्म आइपुग्नुभएका दर्शक भने विषयवस्तुमार्फत् नै सन्तुष्ट हुनुपर्छ ।”

यौनिक लैंगिक अल्पसंख्यक समुदायलाई पर्दामा अभिनेता विपिन कार्कीले ‘कमलामाई’ को भूमिकामार्फत् प्रस्तुत गरेका छन् । चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिना पोखरेल, परिच्छेद सेन, पुरूषोत्तम ढुंगेलले पटकथा, राजेश श्रेष्ठले छायांकन, मिन डी गुरूङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...