क्यानडा पठाइदिने भनी साढे ३४ लाख ठगी गर्ने दुई जना पक्राउ

22

काठमाडौँ, १९ भदौ । सामाजिक सञ्जालमार्फत् क्यानडामा आकर्षक रोजगारीको अवसर देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका–४ का ३० वर्षीय महावीरप्रसाद साह रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार उनीहरूले सामाजिक सञ्जाल इन्टाग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान वर्क परमिट भिसा पाइने भनी नक्कली विज्ञापन पोस्ट गरेका थिए ।

साथै, क्यानडा जान इच्छुक इन्स्टाग्राम प्रयोगकर्तासँग सम्पर्क गरी ‘तपाईंलाई क्यासियरको काम लगाइदिन्छु, मासिक ५ हजार ७०० क्यानडियन डलर (नेपाली ५ लाख ४५ हजार) तलब हुन्छ, प्रोसेसिङका लागि तपाईंले आइएलटिएस सर्टिफिकेट, सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस्’ भनी पटक–पटक ह्वाट्सएप च्याट गरेपछि पीडितले आफ्नो उल्लेखित कागजातहरू पठाएका थिए ।

तत्पश्चात क्यानडा प्रोसेसिङ गर्नका लागि (हेल्थ इन्स्योरेन्स, सेक्युरिटी डिपोजिट, एलोकेटेड फन्ड, भिसा भेरिफिकेसन डिएचएलमार्फत् कागजातहरू पठाउन) रकम तिर्नुपर्छ भनी पीडितलाई नेपालमा रहेका विभिन्न व्यक्तिहरूको नाममा सञ्चालित बैंक खाताहरूमा पटक–पटक गरी जम्मा ३४ लाख ५७ हजार रकम पठाउन लगाएर अनलाइनमार्फत् ठगी गरेको प्रहरीले जनाएको छ ।

सो कार्यमा संलग्न नेपाली र साहलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...