विश्वकप एसिया क्षेत्र छनोट : नेपाललको लगातार तेस्रो जित

120

काठमाडौँ, १७ भदौ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रंगाशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

यससँगै छ अंक जोडेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहरबाइनलाई १० विकेटले हराएको थियो ।

भुटानले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य नेपालले १३ दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भुटानका लागि अञ्जुली घलेले तीन, छिरिङ जाङ्मोले दुई तथा सोनम छोदेन र अञ्जु गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो ।

भुटानका लागि कप्तान डिचेन वाड्गमोले २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पूजा महतोले तीन विकेट लिइन भने कविता कुँवर, खुसी डंगोल र रुबिना क्षेत्रीले समान एक÷एक विकेट झारे लिए । नेपालले अब सोमबार कतारसँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...