काठमाडौँ, १५ भदौ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।
मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जबाफमा नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्यो ।
नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्धतमा १७ रन बनाएकी हुन् । त्यस्तै, सीता रानामगरले अविजित २ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो ।
बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डंगोलले दुई विकेट झारिन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान एक–एक विकेट लिइन्।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्ने छ ।