नेपालको चुच्चे नक्सा नसमेटिएपछि बालेनले गरे चीन भ्रमण रद्द

28

काठमाडौँ, १४ भदौ । हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ५ दिने चीन भ्रमण रद्द गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालबाट उनले यसअघिदेखि नै तय भएको चीन भ्रमण नैतिकताका आधारमा रद्द गरेको बताएका छन् ।

मेयर बालेनले फेसबुकमा लेखेका छन्, “हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।”

गत सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयोजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको थियो ।

सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो ।

भारतीय सञ्चारमाध्यमले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलागायत भूमि पनि समेटिएको बताएका छन् ।

द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश पूरै र अक्साई चीनको क्षेत्र समेटिएको छ । ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ । चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो । भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ ।

चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतमा देखाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...