काठमाडौँ, १० भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि बहस सुरू हुने भएको छ ।
उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुंगो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् । सन्दीपविरूद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ । आदलतले आइतबारका लागि पुनः अन्तिम पेसी तोकेको हो ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
‘गौशला २६’ नामकी जाहेरीवाली युवती भने शनिबारदेखि अस्पताल भर्ना भएकी छिन् । उनले आफूले सेवन गर्ने औषधिको अत्याधिक मात्रा सेवन गरी अस्पताल भर्ना भएको जनाइएको छ ।