ग्रिसमा नेपालीलाई अपहरण गरी फिरौती लिने ४ जना पक्राउ

21

काठमाडौँ, ९ भदौ । नेपाल प्रहरीले ग्रिसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरा (सिआइबी)ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिसा’ मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका तीन नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका–५ का ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँ तार्केश्चर नगरपालिका–५ कुमालटारका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका–१ का ३२ वर्षीय प्रकाश बेलबासे र पर्वत फलेवास नगरपालिका–१ शंखपोखरीका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सर्बियामा गएका पीडितले चित्त बुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकीछिपी ग्रिस प्रवेश गर्न खोज्दा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानीले अपहरण गरी डोरीले बाँधेर शारीरिक तथा मानशिक यातना र डर त्रास देखाइ ज्यान मार्ने धम्की दिइ फिरौती १५ हजार मागेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका कुँवर नेपालमा फिरौती रकम लिने, अर्याल नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क गर्ने, बेलबासे दुबईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने र थापा दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनी सम्पर्क गर्न भूमिका खेलेको प्रहरीको अनुसन्धानमा खुलेको प्रवक्ता अधिकारीले बताए ।

प्रहरीले ग्रिसमा बन्धक बनाइ राखेका पीडितलाई सकुशल उद्धार गरेको छ । पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...