काठमाडौँ, ५ भदौ । काठमाडौँ महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणका लागि ‘वायो लार्भिसिद’ छर्कने भएको छ । महानगरले डेंगु रोग फैलन नदिन, लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘वायो लार्भिसिद’ छर्कने भएको हो ।
नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकिएसँगै काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा पानी जमेको स्थानमा प्रयोग गरिने मेयर बालेन्द्र (बालेन) साहले उल्लेख गरेका छन् । उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन ।
उक्त औषधिले लामखुट्टेलाई मात्रै नष्ट गर्छ । औषधिले डेंगुसहित फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने छ ।

मेयर साहका अनुसार परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४सैँ घन्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

महानगरको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने यो रोग लाग्दा ज्वरो आउने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेजस्ता लक्षण देखा पर्दछ ।


