कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जनाविरूद्ध मुद्दा दर्ता

220

खाँदबारी, ४ भदौ । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ ।

कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकरीदार र कैदीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको हो । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो ।

कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जनाविरूद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले जानकारी दिए । अनुसन्धान टोलीको प्रतिवेदन आएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने डिएसपी गोदारले बताए ।

घटनालगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली बनाएको थियो । मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

कैदी मृत्यु प्रकरणमा प्रत्यक्ष संलग्न देखिएका ५ प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ । कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट भदौ १ गते दोस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा असई चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालत सङ्खुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो । कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।

कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते बुधबार बिहान मृत्यु भएको थियो ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ जना कैदीबन्दी छन् ।

सम्बन्धित समाचार 

Share This:
सम्बन्धित खबर
Loading...